धरान: यातायात व्यवसायी तथा मजदुर संगठनहरुले ९ जिल्ला लिम्बुवान बन्दको विकल्प खोज्न आन्दोलनरत मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिलाई आग्रह गरेको छ । 

संघर्ष समितिले माघ १९ र २० गते दुई ९ जिल्ला लिम्बुवान बन्दको आह्वान गरेको छ भने उक्त दिनभित्र माग पुरा नभए २१ गते सोमबारदेखि अनिश्चितकालिन ९ जिल्ला लिम्बुवानमा आमहड्तालको घोषणा गरेको छ । समितिको यो घोषणापछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश र अखिल नेपाल यातायात मजदुर संघ कोशी, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी, नेपाल यातायात मजदुर संघ कोशीले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै बन्दको विकल्प खोज्न आग्रह गरेको हो । 

निरन्तरको बन्दले व्यवसायीहरुले मासिकरुपमा व्यहोर्नुपर्ने आर्थिक दायित्वको भार थग्न नसक्ने अवस्था सृर्जना हुदै गएकोले बन्दको विकल्प खोज्न यातायात व्यवसायी तथा मजदुर संगठनहरुले अपिल गरेका छन् । ‘वार्ता सम्वादबाट निकास निकाल्न आन्दोलनरत पक्ष एवं नेपाल सरकारमा हार्दिक अनुरोध गर्दछौं, साथै अनिश्चितकालिन बन्द फिर्ता लिई जनजीवन सहज बनाउनेतर्फ राज्य पक्ष जिम्मेवार भई अविलम्ब यातायात सुचारु गराउन हार्दिक अपिल गर्दैछौं,’ विज्ञप्तीमा भनिएको छ । 

व्यवसायी तथा मजदुर संगठनहरुले गोली लागेर घाइते भएकाहरुको सीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । उक्त घटनाको विरोधमा मुक्कुमलुङ संरक्षणकर्मीहरुले माघ १५ गतेदेखि निरन्तर ताप्लेजुङ प्रवेश गर्ने मेची राजमार्ग, तमोर करिडोरलगायत नाकाहरुमा यातायात अवरुद्ध गर्दै आइरहेका छन् । यसले ताप्लेजुङसहित धनकुटा, झापा, इलाम, पाँचथरतर्फ यात्रा गर्नुपर्ने सर्वसाधारणहरुले कष्ट भोग्नुपरिरहेको विज्ञप्तीमा खुलाइएको छ । साथै, सार्वजनिक यातायात सेवा प्रवाह गर्ने स्वरोजगार व्यवसायीहरु र सवारीमा कार्यरत मजदुर तथा आश्रित परिवारको अवस्था दयनीय बन्दै गएको पनि विज्ञप्तीमा उल्लेख छ ।

mukumlung 1