धरानः विगतमा यातायात बन्दको क्रममा प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिएपनि साँझ छोड्ने गरेको थियो ।
मुक्कुमलुङ संरक्षण आन्दोलनको क्रममा आइतबार यातायात बन्दमा उत्रिएका युवा नेता सुमन चेम्जोङसहित ६ जना युवाहरु भानुचोकबाट समातिए । बन्दकर्ताहरुले सधैं झैं उनीहरुलाई प्रहरीले बेलुकी ५ बजे बन्द खुलेपछि छोड्छ भन्नेमा ढुक्क थिए । प्रहरीले पनि आन्दोलनको नेतृत्व गरिरहेकाहरुलाई त्यही आश्वासन दिएको थियो । कुनै अप्रिय घटना वा हुलदंगा नभै नियन्त्रणमा लिइएको कारण उनीहरु छुटिहाल्छ भन्ने आन्दोलनरत पक्षलाई थियो ।
आन्दोलनकारीहरुले बेलुकी ५ बजे पहिलो दिनको यातायात बन्दको कार्यक्रम सकिएको र सोमबार पुनः बिहानदेखि नै बन्द सुचारु हुने घोषणा गरिसक्दा पनि पक्राउ परेकाहरु छुटेनन् । समय घर्कदै जाँदा प्रहरीले माथिको आदेश भन्दै चेम्जोङसहित धरानबाट समातिएका ६ जनालाई छोड्न मानेन । त्यसपछि आन्दोलनकारीहरुले आइतबार राती अबेरसम्म भानुचोकस्थित वडा प्रहरी कार्यालय घेराउ र धर्ना दिए ।

पहिचानवादी युवा नेता जेन्टल लावतीका अनुसार दिउँसो प्रहरीले पक्राउ परेकाहरुलाई साँझ छोड्ने समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रत्यक्ष हस्तक्षेपको कारण नछुटेको बताए । उनले भने,‘हामीले सबैतिर सम्पर्क गर्यौं, बुझ्यौं । प्रधानमन्त्री ओलीकै आदेश नछोड्ने भन्ने रहेछ । राज्य हाम्रो आन्दोलनलाई दमन गर्नेतिर लागेको छ, हामी झन् सशक्त आन्दोलन गछौं ।’
जनता समाजवादी पार्टीका नेता ताजुब लिम्बुले पनि तोडफोड वा जघन्य अपराध नगरेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएका आन्दोलनकारीहरुलाई नछोड्नुपर्ने कुनै कारण नभएको बताए । ‘प्रहरीले शान्तिपुर्ण आन्दोलनको बेला विनाकारण धरपकड गर्यो, र साँझ पनि नछोडेपछि हामी धर्नामा छौं,’ उनले भने,‘यहाँको सुरक्षा प्रमुखहरुसँग छलफल गरिरहदा केन्द्रको हस्तक्षेपको कारण छोड्न अफ्ठेरो भएको बुझेका छौं ।’ उनले राती अबेरसम्म पनि नछोडे फर्किएर सोमबार बिहानैदेखि बन्द अझ कडा र सशक्त बनाउन लागिपर्ने बताए ।
भिडियो:







