धरान: पवित्र मुन्दुमी क्षेत्र मुक्कुमलुङमा 'नो केवलकार' आन्दोलन चर्किएपछि गृहमन्त्रालयले सहसचिव संयोजक रहने गरि ४ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
गृहमन्त्रालयले आइतबार राती विज्ञपती जारी गर्दै सहसचिव प्रेमप्रसाद भट्टराई संयोजक रहेको वार्ता टोली गठन गरेको जानकारी दिएको हो । टोलीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालय र सहरी विकास मन्त्रालयको प्रतिनिधिसमेत रहने गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । वार्ता टोलीले तत्कालै काम प्रारम्भ गर्ने र आन्दोलनरत पक्षहरुलाई आन्दोलनको कार्यक्रम फिर्ता लिएर संवाद मार्फत समस्याको समाधान गर्न पनि सोही विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।
गृहमन्त्रालयले वार्ता टोली गठन गरेपनि आन्दोलनरत पक्षले ९ जिल्ला लिम्बुवानमा यातायात बन्दको कार्यक्रमलाई निरन्तरता दिएको छ । आज पनि बिहानैदेखि मुख्य सहरहरुमा आन्दोलनकारी केन्द्रीत भएर यातायात चल्न दिएका छैनन् । हिजो बन्दको पहिलो दिन झापाको दमक र धरानबाट बन्दकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले रिहा गरेको छैन ।
भिडियोः
गृहमन्त्रालयले गठन गरेको वार्ता टोलीबारे भने मुक्कुमलुङ संरक्षण अभियन्ता तथा आन्दोलनकारीहरुले धारणा सार्वजनिक गरिसकेको छैन । यद्यपी, अन्तरदलिय संघर्ष समितिमा रहेको पहिचानवादी मोर्चाका युवा नेता जेन्टल लावतीले भने कर्मचारी संयोजक रहेको वार्ता टोलीको औचित्य नहुने प्रतिक्रिया दिए । ‘सहसचिवस्तरको कर्मचारी संयोजक बनाएको भन्ने छ, त्यो समितिले निर्णय लिनैसक्दैन,’ लावतीले भने,‘वार्ता गर्ने नै हो भने मन्त्री संयोजक भएको हुनुपर्छ ।’