धरान: धार्मिक पर्यटकीयस्थलहरुको प्रर्वद्धन गर्ने उद्देश्यले आयोजित धरान कोरा राइड साइक्लिङ च्यालेन्ज २०२५ शनिबार सम्पन्न भएको छ ।
धरानको भानुचोकबाट शुरु भएको कोरा राइडले विभिन्न चोक, धार्मिक तथा पर्यटकीयस्थलहरु हुदै धरान १७ स्थित साकेला साँस्कृतिक पार्कमा पुगेर समापन भएको थियो । केरा राइडको दुरी करिब ३२ किलोमिटर रहेको प्याडलर्स धरानले जनाएको छ । भानुचोकबाट शुरु भएको कोरा धरानको उद्घाटन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले रिबन काटेर भएको थियो ।
समापन समारोहमा भने धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रबिक्रम बेघा प्रमुख अतिथि रहेका थिए । उपप्रमुख बेघाले साइक्लिङले स्वास्थ्य, पर्यटन र आमभावनालाई जोड्न सफल भएको धारणा व्यक्त गरे । उनले भने,‘धरानलाई चिनाउने काम पनि गरेको छ । भावनात्मक एकता, स्वास्थ्यप्रति सजगता र खेलकोरुपमा पनि साइक्लिङमा आकर्षण बढीरहेको छ ।’
बिशिष्ट अतिथि एवं नेपाल प्रहरीका एसएसपी भीम दाहालले यस्ता कार्यक्रमहरु नियमितरुपमा हुनुपर्ने बताए । ‘खेलकुदको विधा पनि हो, वृत्ति विकास हुन्छ, भाईचारा कायम गराउछ । स्वास्थ्यलाई पनि राम्रो गर्छ,’ उनले भने ।
दुई सयभन्दा बढीले सहभागिता जनाएको कोरा राइडका सहभागीहरु खुशी र सन्तुष्टी व्यक्त गरेका छन् । मोरङको पथरी १ का भुपाल विष्टले कोरा राइड एकदम राम्रो भएको प्रतिक्रिया दिए । ‘एकदम राम्रो भयो, साइक्लिङ गर्न उकालो ओरालो भए राम्रो हुन्छ, धरानको भुगोल उपयुक्त रहेछ,’ उनले भने, ‘कसैलाई पनि कुनै समस्या भएन, अत्यधिक रमाइलो भयो ।’
आयोजक संस्थाका सल्लाहकार विनयलाल श्रेष्ठले आगामी बर्ष अझै भव्यरुपमा आयोजना गर्ने बताए । ‘आगामी बर्ष पनि भव्य गर्ने वाचा गछांै, काठमाण्डौं पछि नेपालमा कोरा राइड धरानमा नै शुरुवात भएको हो,’ उनले भने ।
समापन समारोहमा धरान कोरामा सहभागीहरु मध्ये लक्की ड्र मार्फत इटहरीका यज्ञ न्यौपानेले साइकल उपहार पाएका थिए । अठार हजार मुल्य बराबरको उक्त साइकल एमटिभि अनिषले स्पोन्सर गरेका हुन् । लक्की ड्र विजेता न्यौपानेलाई बिशिष्ट अतिथि एवं एसएसपी दाहालले साइकल हस्तानतरण गरेका थिए ।
आयोजक संस्थाका अध्यक्ष किशन मास्केले कार्यक्रम सफल भएको प्रतिक्रिया दिदै सहभागी सबैलाई धन्यावाद दिएका थिए । कार्यक्रमको संयोजक विजय श्रेष्ठले गरेका थिए । कार्यक्रममा धरान बाहिरबाट पनि साइक्लिष्टहरुको ठुलो संख्यामा सहभागिता रहेको र यसले यहाँको पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने आयोजकले जनाएको छ ।
भिडियो:
भिडियो: