धरान: विदेशबाट घर फर्किएका नागरिकहरु आफै सजग भएर होम क्वारेन्टाइनमा नबसिदिदा जनप्रतिनिधिहरुलाई निक्कै हैरानी भइरहेको छ । वडाबासीहरुमा पनि कोरोना भाइरस(कोभिड १९)को उपचार प्रक्रियाबारे पुर्ण जानकारी नहुदा अनेक भ्रमहरु फैलिएका छन् ।

कतिपय वडाका जनप्रतिनिधिहरुले सामाजिक सञ्जालबाट त्रसित नहुन भन्दै सुचना जारी गरिरहेका छन् । खास गरी चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुदै नेपाल आएकी युवतीलाई कोरोना संक्रमण भएको र उनकै फ्लाइटमा आएका २ जना धरानमा पनि भएको खुलेपछि जोखिम हुने भन्दै सतर्कता अपनाइएको छ । धरानका दुई व्यक्ति संक्रमित युवती चढेकै जहाजमा आएको खबरसँगै वडाबासीहरु भयभित अवस्थामा छन् । त्यसपछि विभिन्न वडाहरुले विदेशबाट आएका मानिसहरुको विवरण संकलन गरेर स्वास्थ्य परीक्षणको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठायो । वीपीबाट उनीहरुको स्वास्थ्य अवस्था हेरेर कतिलाई पुनः घरमै पठायो भने केही व्यक्ति क्वारेन्टाइनमा गए ।

अहिले वीपीबाट पुनः घर फर्काइएका वडाहरुमा स्थानीयबासीहरुले जनप्रतिनिधिहरुलाई किन घर फर्काइएको भन्दै प्रश्न गरेर हैरान बनाइरहेका छन् । ‘हामीले को को विदेशबाट आएको हो विवरण लिएर वीपीमा पठायौं, त्यहाँबाट चिकित्सकले नै घरमा बस्नु भनेर पठाइदिएका छन्,’धरानको १६ नम्बर वडा कार्यालय सदस्य दिपक आचार्यले भने,‘तर टोलका छरछिमेकहरुले वीपीबाट किन छोडेको ? घरमा किन ल्याएको ? भनेर फोन गरेको गरेकै गर्छन् ।’ आफुहरुले सम्बन्धित मान्छेसँग कुरा गर्दा स्वास्थ्यमा कुनै समस्या नभएकोले होम क्वारेन्टाइनमा बस्न पठाएको भन्ने जानकारी पाएको उनले बताए ।

वडा १६ मा हालसम्म १४ जना विदेशबाट आएको भेटिएको र १२ जनाको स्वाबब परीक्षण गर्न पठाइएको छ । उनीहरुको स्वास्थ्यमा कुनै समस्या एवं कोरोनाको लक्षणहरु नदेखिएकोले घरमा नै क्वारेन्टाइनमा बस्ने गरि वीपी प्रतिष्ठानले पठाएको हो । तर, ती व्यक्तिका छरछिमेक एवं टोलबासीहरु भने भयभित अवस्थामा भएको वडा सदस्य आचार्यले बताए । वडाबासीको दबाब थेग्न गाह्रो भएपछि उनले सामाजिक सञ्जालमार्पmत परीक्षणको रिपोर्ट आउन बाँकी नै भएकोले संयमित रहन अपिलसमेत गरेका छन् ।

विदेशबाट आएपछि १४ दिनभित्र होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यक्तिहरु बाहिर खुलेआम घुमफिर गरेपछि वडाबासीहरु अहिले त्रसित हुनुपरेको जनप्रतिनिधिहरुको बुझाई छ । कोरोना संक्रमित युवतीसँगै एउटै फ्लाइटमा आउने धरान ६ र ८ वडाका दुई व्यक्ति होम क्वारेन्टाइनमा थिएनन् । जब ती युवती संक्रमित भएको जानकारी औपचारिकरुपमा सरकारले दियो, त्यसपछि मात्र वडा ६ का व्यक्ति होम क्वारेन्टाइनमा नबसेको खुल्यो । वडा ६ का अध्यक्ष भुवनसिंह बस्नेतका अनुसार विदेशबाट आएकाहरु जिम्मेवार भएर होम क्वारेन्टाइनमा बसिदिएको भए समस्या नहुने बताउँछन् । ‘क्वारेन्टाइनमा नबसिदिएकोले नै समस्या भएको हो, नत्र हामी डराउनुपर्ने अवस्था थिएन,’उनले भने ।

स्वास्थ्यकर्मीहरुका अनुसार विदेशबाट आएको हो भन्दैमा व्यक्तिहरुलाई अस्पतालमा भर्ना गर्नुपर्दैन । चौध दिभित्रमा विदेशबाट फर्केको भएपनि व्यक्तिमा ज्वरो आएको, रुघाखोकी लागेको वा सास फेर्न गाह्रो भएको लक्षणहरु नदेखिए घरमै क्वारेन्टाइनमा बस्दा हुन्छ । तर, १४ दिनभित्र उसले आफुलाई परिवारजनबाट पनि अलग राख्नुपर्ने हुन्छ । ‘विदेशबाट आएको भएपनि यी प्रमुख तीन लक्षणहरु देखिएको छैन भने सेल्फ वा होम क्वारेन्टाइनमा बस्दा हुन्छ । तर, आफ्नो परिवारसँग अलग भएर बस्नुपर्छ, कुनै समस्या हुदैन,’वीपी प्रतिष्ठानका सहप्रवक्ता डा.अशोक ऐरले भने,‘उपचार आवश्यक पर्ने व्यक्तिहरुलाई मात्र हामी आइसोलेसनमा राख्ने हो । यति कुरा जनप्रतिनिधिहरुले पनि जनतालाई बुझाइदिनुपर्छ ।’