धरान: आगामी आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिए पछि आज शुरु भएको धरान उपमहानगरपालिकाको सातौं नगरसभा स्थगित गरिएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा आयोजित नगरसभामा उपमेयर मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी थिइन् । सभालाई प्रदेश सभामुख प्रदीपकुमार भण्डारी र प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठले सम्बोधन गरेका थिए । त्यसपछि, मेयर तिलक राईले सबैलाई धन्यवाद दिएर बैठक स्थगित गर्ने घोषणा गर्दै असार २६ गते शुक्रबार नगरसभाको बैठक बस्ने जानकारी पनि गराएको वडा नं ९ का अध्यक्ष रत्न कटवालले जानकारी दिए । ‘नगरसभा स्थगित गर्ने र आगामी बैठक असार २६ गते ११ बजे बस्ने भनेर मेयर ज्युले सबैलाई आह्वान गर्नुभएको छ,’उनले भने ।

नगरसभाको आगामी बैठक अघि कार्यपालिका बैठक बसेर नीति तथा कार्यक्रमहरुमा सच्याउनुपर्ने बिषयहरुमा थपघट गरिनेछ भने २२ करोडको सिलिङ वडाहरुमा पठाइनेछ । वडाहरुले आफ्नो आवश्यकतालाई प्राथमिकतामा राखेर योजना तर्जुमा गरेर कार्यपालिकामा पठाउने र सोही अनुसार नगरसभामा ब्रेक डाउनसहित प्रस्तुत भएर पास हुने वडा नं १७ का अध्यक्ष मनोज भट्टराईले बताए । नगरसभा अघि नै बजेट सिलिङ वडाहरुमा पठाउनुपर्ने भएपनि यसपाली ढिलाई भएको थियो । साथै, योजना तर्जुमा पनि हुन सकेको थिएन । त्यसैले नगरसभा बुधबार शुरुवात गरेर स्थगित गर्नुपरेको हो ।