धरान: प्रिति भल्व एण्ड फिटिङ्समा कार्यरत धरान १५ सेन्ट्रल रोडका एक व्यक्तिमा आज कोरोना पोजेटिभ पुष्टि भयो, तर उनीसँगै स्वाब संकलन गरिएका परिवारका सदस्यहरुको भने रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमित व्यक्तिले क्लिकधरानसँग फोन सम्पर्कमा जानकारी दिएअनुसार उनीसँगै श्रीमति, एक छोरा र छोरीको पनि स्वाब संलकन गरिएको थियो । स्वाब संकलन गरेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको थियो । एकै परिवारका ५ जनाको पिसिआर परीक्षण गर्दा श्रीमति र छोराछोरीको रिपोर्ट नेगेटिभ आएको संक्रमित व्यक्तिले जानकारी दिए । ‘मबाहेक सबैको रिपोर्ट नेगेटिभ आयो, मेरो पनि नेगेटिभ आओस् भन्ने लागेको थियो, तर पोजेटिभ आएछ,’उनले भने ।

उनी कार्यरत उद्योग(प्रिति भल्व)मा अडिट हेर्ने धरान १३ का युवालाई कोरोना पोजेटिभ भएपछि कन्ट्याक ट्रेसिङको आधारमा उनको पनि स्वाब साउन १६ गते संकलन गरिएको थियो । उनले आफुसँगै परिवारको पनि स्वाब परीक्षण गर्न लगाएका थिए । रिपोर्ट पोजेटिभ आए पनि आफ्नो स्वास्थ्य सामान्य रहेको उनले बताए । ‘मलाई केही भएको छैन, ठिकै छु । ज्वरो पनि आएको छैन,’उनले भने ।

'बजारको सम्पर्क कार्यालयमा २, ३ घण्टा बसेको थिएँ'

आज पोजेटिभ रिपोर्ट आएका व्यक्तिको भनाई अनुसार उनी यसअघि संक्रमण पुष्टि भएका उद्योगका अडिटर बसेर काम गर्ने धरान बजारको सम्पर्क कार्यालयमा गएका थिए । त्यहाँ उनले झण्डै २ घण्टा जति समय बिताएको उनले बताए । ‘सम्पर्क कार्यालग गएर २, ३ घण्टा जति बसेको थिए, त्यहीबाट मलाई सरेको हुनुपर्छ,’उनले भने,‘आइतबारदेखि म उद्योगमा पनि गएको छैन ।’

उनको परिवारले एभरेष्टलाइनमा किराना पसल पनि चलाएका छन् । तर, स्वाब संकलन गरेदेखि उक्त पसल पनि बन्द गरिएको उनको भनाई छ । ‘म पसलमा त्यति बस्दिन थिएँ, रिपोर्ट नआएसम्म पसल नखोल्ने भनेर बन्द गर्यौं, साथीहरुको रिपोर्ट पोजेटिभ आएदेखि म पनि बाहिर निस्केको थिइनँ,’उनले भने ।