धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुणस्तरीय इन्टरनेट सेवा दिन नसकेको आरोप खेपिरहेको सुविसु केवलनेट प्रालिसँगको खरिद सम्झौता भंग गरेको छ । 

सम्झौता भंग भएसँगै प्रतिष्ठानमा विगत १० बर्षदेखिको सुविसुको एकाधिकार पनि अन्त्य भएको छ । साथै, सहमति भएसँगै आन्दोलनरत पक्षले पदाधिकारीको कार्यकक्षमा लगाएको ताला पनि खुलेकोछ । इन्टरनेट सेवाको बिषयमा आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटी, विद्यार्थी प्रतिनिधिहरु र पदाधिकारीहरुबीच भएको वार्ताले अबदेखि प्रतिष्ठानले खुला बजार नीति अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीहरुसँग सेवा खरिद गर्ने सहमति गरेको छ । प्रतिष्ठानले गठन गरेको इन्टरनेट सेवा सम्बन्धी कार्यदलले पनि सुविसुसँगको सम्झौता भंग गरि खुला बजार नीति अपनाउन सुझाव दिएको थियो । 

यस्तै, प्रतिष्ठानले हाल खरीद गरिरहेको ३० एमबिपिएसको लिज लाइनको सम्झौता पनि कार्यदलको प्रतिवेदन अनुसार सम्झौता भंग गर्ने निर्णय गरेको छ । यो सम्झौता पनि बजार मुल्यभन्दा अत्यधिक महंगोमा सेवा दिदै आएको, सम्झौतामा उल्लेख भएको सर्तहरु पालना नगरेको, इन्टरनेट सेवामा सबै पक्षबाट व्यापक गुनासो आइरहेको र छानबिन प्रतिवेदनमा पनि खरिद ऐन, कालोबजार ऐन आकर्षित हुने देखिएकोले सम्झौता खारेज गर्न सुझाव दिएको थियो ।

प्रतिष्ठानमा दीर्घकालिनरुपमा इन्टरनेट सेवामा गुणस्तरीयता सुनिश्चित गर्न जि टु जि सम्झौता मार्फत सोझै नेपाल टेलिकमसँग खरिद प्रक्रिया अघि बढाइने पनि सहमति भएको छ । यसैगरि, इन्टरनेट सेवाको गुणस्तर कायम गरिराख्नको लागि समय समयमा निगरानी गर्न प्रशासन, फ्याकल्टी, आवासिय चिकित्सक र विद्यार्थी सम्मिलित इन्टरनेट सेवा मुल्यांकन समिति ७ दिनभित्र गठन गर्ने र उक्त समितिको सुझाव सल्लाहलाई सम्बन्धित निकायले पालना गर्ने पनि निर्णय भएको छ । 

यस्तै, स्वास्थ्य मन्त्रालयसँग समन्वय गरि प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीहरुको निम्ति ३ हजार डोज भ्याक्सिन उपलब्ध गराउन निर्णायक पहल गर्ने पनि निर्णय भएको छ । आन्दोलनरत जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.पदम नेपालीले यो सहमति ऐतिहासिक भएको प्रतिक्रिया दिए । उनले भने,‘बषौंदेखि अपारदर्शीरुपमा एउटै कम्पनीले गरिरहेको मनोपोली अन्त्य भएको छ । अब जुनसुकै कम्पनीले पनि इन्टरनेट सेवा दिन पाउने भयो, हामीले पनि छानीछानी लिन पाउने भयौं । लिज लाइनमा मासिक ५, ६ लाख घाटा पनि जोगियो ।’bp-subisu

bp-subisu1