धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच सहमति भएपछि ओपिडी सेवा बहिष्कार गरेका आन्दोलनकारीहरु काममा फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयले गठन गरेको वार्ता टोली र संयुक्त संघर्ष समितिबीच आज बिहान सहमति भएको थियो । वार्ता हिजो मंगलबारदेखि नै भएको थियो । वार्ता जारी रहे पनि संघर्ष समितिले गएको शनिबार घोषणा गरेअनुसार आन्दोलनकारीहरु ओपिडी सेवा छोडेर उपकुलपति कार्यालयअघि भेला भएका थिए । वार्तामा ६ बुँदे सहमति भएपछि आन्दोलनकारीहरु विजयी मुद्रामा काममा फर्किएको घोषणा गरेर करिब ११ बजेतिर अस्पताल सेवा सुचारु गरेका थिए । हिजो मंगलबार समस्या पहिचान तथा छानबिन कार्यदलले पनि प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको थियो । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरिसकेको उक्त प्रतिवेदनले चारै जना पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको छ । 

bp andolan1

संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले अस्पताल सेवा सुचारु गर्ने र डिन कार्यालयको तालाबन्दी खोल्ने बताए । तर, पदाधिकारीहरुको कार्यकक्षमा भएको तालाबन्दी यथावत रहने र गाडीको साँचो पनि आफुहरुसँगै रहने प्रष्ट पारे । हरेक साँझ गरिने दिप प्रज्वलन र बिहान ८ बजेदेखि १० बजेसम्मको खबरदारी कार्यक्रम पनि जारी रहने उनले घोषणा गरे । नर्सिग फ्याकल्टी रिता पोखरेलले वीपीमा पनि समावेशीकरणलाई पनि लागु गर्नुपर्ने बताइन् । कर्मचारी कल्याण समाज तदर्थ समितिका मदन हलवाईले सहमति आंशिक सफलता भएको भन्दै ४ जना पदाधिकारीहरुको दिनगन्ती शुरु भइसकेको बताए । केही दिनभित्रै पदाधिकारीहरु कानुनीरुपमा नै हट्ने उनले दाबी गरे ।

bp andolan4

जुनियर रेजिडेन्ट वेल्फेयर सोसाइटीका अध्यक्ष डा.राजेन्द्र घिमिरेले विरामीहरुलाई दुःख दिन नहुने मान्यता अनुसार काममा फर्किएको बताए । उनले आन्दोलन अझै नटुगिएको भन्दै खबरदारी जारी रहने बताए । पदाधिकारीहरु बर्खास्त नभएसम्म पछि नहट्ने उनले बताए । विद्यार्थी प्रतिनिधि अमृत जैसीले सरकारले उपकुलपतिको प्राध्यापक पदबारे ७ दिन भित्र पेश गर्नुपर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख भइसकेकोले आजै मन्त्रालयले पत्राचार गर्ने बताए । उपकुलपतिले बुझाउन नसके अख्तियारले पनि छुट्टै मुद्दा दायर गर्ने पनि खुलाए । चिकित्सा शिक्षा आयोग र मेडिकल काउन्सिलको मापदण्ड अनुसार पुर्वाधार नभएकोबारे पनि १५ दिनभित्र छानबिन हुने पनि बताए । 

भिडियो:

bp andolan5

bp andolan3

bp andolan6

bp andolan2