धरान: धरानमा हालसम्म २१ सय मत गणना सकिदा गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले अग्रता कायमै राखेका छन् । 

वडा नं १, २ र ३ को कुल २१ सय मतगणनाको परिणाम निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालका अनुसार गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ७७३ मत ल्याएर अगाडि छन् । उनलाई पछ्याइरहेको स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ६०३ मत ल्याएका छन् । गठबन्धनका उम्मेद्वार राई र स्वतन्त्र उम्मेद्वार साम्पाङबीच १६० मतान्तर रहेको छ । एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले ४०८ मत पाएकी छिन् । राप्रपाका नरेश शाक्यले ९२ मत पाएका छन् ।

यस्तै, उपमेयरमा पनि गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ८५६ मत ल्याएर अग्रता कायमै राखेका छन् भने एमालेका उम्मेद्वार पदम इस्वोले ४६७ मत पाएका छन् । राप्रपाकी उपमेयर उम्मेद्वार पुर्णमाया राईले १३९ मत ल्याएकी छिन् । धरानमा कुल १ लाख ३२४ मतदाता रहेकोमा शुक्रबार भएको निर्वाचनमा ६२ हजार ८९७ मत खसेको छ ।