धरान: मेयर हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा चमारे शब्द प्रयोग गर्दा दलित समुदायलाई दुःखी बनाएकोमा माफी मागेका छन् । 

सामाजिक सञ्जालमा चौतर्फी आलोचना र राष्ट्रिय दलित आयोगले कानुनी कारबाहीको सिफारिश गरेपछि दबाबमा परेका मेयर साम्पाङले आज विज्ञप्ती जारी गर्दै माफी मागेका हुन् । उनले कसैलाई ठेस पुर्याउन नियतवश उक्त स्टाटस पोष्ट नगरेको पनि प्रष्ट्याएका छन् । गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग भएको जिकिर गर्दै मेयर साम्पाङले यसले दलित समुदायलाई नराम्रो लागेकोप्रति दुःख व्यक्त गर्दै क्षमाप्रार्थी रहेको विज्ञप्तीमा उल्लेख गरेका छन् ।

 आफु सधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनको लागि विकृति, विसंगति बेथिती, अन्याय, भ्रष्टचार, विदेभ, शोषण र दमनकाविरुद्ध अभियान चलाएको पनि मेयर साम्पाङले विज्ञप्तीमा उल्लेख गरेका छन् । मेयर साम्पाङले गएको मंगलबार फेसबुकमा ‘....बल होइन, बुद्धि लगा चमारे बुद्धि’ भन्ने स्टाटस पोष्ट गरेका थिए । उनको यो अभिव्यक्तिले दलित समुदायको अपमान गरेको भन्दै तीब्र आलोचना भएको थियो । दलित समुदायसँगै राष्ट्रिय दलित आयोगले पनि मेयर साम्पाङलाई अभिव्यक्ति सच्याउन र आत्मालोचना गर्न आग्रह गरेको थियो ।

मेयर साम्पाङले आफ्नो स्टाटस सम्पादन गर्दै चमारे शब्द हटाए पनि सार्वजनिकरुपमा अभिव्यक्ति सच्याएको वा फिर्ता लिएर आत्मालोचना गरेको स्वीकार गरेनन् । उल्टै आफ्नो अभिव्यक्तिको वचाउमा निरन्तर पोष्ट गरेपछि दलित आयोगले मेयर साम्पाङलाई कानुनी कारबाही गर्न गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । आयोगले कारबाहीको लागि सिफारिश गरेपछि मेयर साम्पाङले आयोगविरुद्ध नै पनि फेसबुकमार्फत अभिव्यक्ति दिएका थिए । चौतर्फी दबाब र आलोचना भएपछि मेयर साम्पाङले आज विज्ञप्ती जारी गर्दे माफी मागेका हुन् । 

mayor-press