धरान: मुक्कुमलुङमा नो केवलकार आन्दोलन चर्किएको कारण आजदेखि पुर्वघोषित आमहड्ताल हुने कि नहुने भन्ने अन्योलका बिच यातायात सञ्चालनमा आएको छ ।
गृहमन्त्रालयसँग राती अबेरसम्म भएको वार्तामा सहमति जुट्न नसकेपनि आज बिहानैदेखि धरानबाट लामो दुरीका यातायातहरु सञ्चालनमा आएको छ । धरानका आन्दोलनकारीहरु हिजो राती इलाका प्रहरी कार्यालयमा गएर सामुहिक गिरफ्तारी दिएको कारण पनि आजको बन्द प्रभावकारी हुन नसकेको हो । गृहमन्त्रालयमा आज पुनः ११ बजे दुवै तर्फको टोलीबीच वार्ता हुने भनिएको छ ।
मुक्कुमलुङ संरक्षण आन्दोलनकारी युवा नेता शिवहाङ राईले सामुहिक गिरफ्तारीको कारण आन्दोलनकारीको संख्या कम भएको र यातायात व्यवसायी, मजदुरहरुले आफ्नै रिस्कमा यातायात चलाएको बताए ।
उनले भने,‘केवलकार खारेजीको माग राखेर हाम्रो आन्दोलन यथावत नै हो, तर हिजो रातीको सामुहिक गिरफ्तारी कार्यक्रमले जिम्मेवारी पाएका युवाहरु बिहानै आउन सकेनन्, र मजदुर साथीहरुले आफ्नै रिस्कमा गाडी चलाएको हो ।’ बिहान ११ बजे वार्ता बस्ने भएकोले पनि त्यसअवधिसम्म आफुहरु पर्खने पनि उनले बताए ।