धरान : पवित्र मुन्दुमीस्थल मुक्कुमलुङ क्षेत्रमा केवलकार निर्माणको निर्णय खारेजी माग गर्दै आन्दोलनरत नो केवलकार र सरकारी वार्ता टोलीबीच सहमति भएको छ ।
गृहमन्त्रालयमा आज (मंगलबार) राती भएको वार्तामा ६ बुदे सहमति भएको हो । सहमतिको पहिलो बुदामा केवलकारको स्टेशनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसन सन्दर्भमा माघ २७ गते हुने वार्तामा विस्तृत छ्लफल गर्ने उल्लेख छ ।
यस्तै, माघ १२ गते भएको गोली प्रहार भएको घटनाको बिषयमा छानबिन गरी कानुनी कारबाही गर्ने पनि सहमति भएको छ । सरकारले घोषणा गरे बमोजिम आन्दोलनको क्रममा घाइते भएकाहरुको निस्शुल्क र प्रभावकारीरुप स्वास्थ्य उपचार गर्ने पनि सहमति भएको छ ।
यसैगरी, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाईको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिको बुदामा उल्लेख छ भने मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात स्थगन गर्ने पनि उल्लेख छ । सहमति पत्रमा सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद भट्टराई र आन्दोलन पक्षबाट वार्ता सहजीकरण समितितर्फबाट सरस्वती सिङ्गक (सरु) ले हस्ताक्षर गरेका छन् ।