धरान: धरानका कोरोना संक्रमण पुष्टि भएका प्रिति भल्व एण्ड फिटिङ्स उद्योगमा कार्यरत कामदारहरुको कन्ट्याक ट्रेसिङ भएकासहित ९२ जनाको स्वाब संकलन भएको छ ।
आज उनीहरु सबैको धरान १७ स्थित एन्फा एकेडेमी क्वारेन्टाइनस्थलमा स्वाब संकलन गरिएको हो । स्वाब संकलन गरिएकामध्ये ७१ जना पुरुष हुन् भने २१ जना महिला हुन् । धरानमा यति ठुलो संख्या एकै दिन स्वाब संकलन गरेको यो पहिलो पटक हो । ‘आज ९२ जनाको स्वाब संकलन गरियो, ७१ जना पुरुष र २१ जना महिला छन्,’धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने ।
स्वाब संकलनमा ८ जना जनशक्ति खटिएको पनि मेहताले बताए । स्वाब संकलन गरिएकाहरु यसअघि धरान १३ का पोजेटिभ युवाको कन्ट्याक ट्रेसिङ गरिएको, हिजो पोजेटिभ देखिएका धरान १, धरान ८ का व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गरिएकाहरु पनि भएको स्वास्थ्य महाशाखाले जनाएको छ । धरान १३, १ र ८ मा पोजेटिभ देखिएका प्रिति भल्वका कामदार हुन् । यस्तै, विदेशबाट आएर एन्फा क्वारेन्टाइनमा रहेकाहरुको पनि स्वाब संकलन गरिएको छ । आज(सोमबार) पनि प्रिति भल्वमा काम गर्ने धरान १५ का एक व्यक्तिमा कोरोना पोजेटिभ आएको थियो । उनको पनि कन्ट्याक ट्रेसिङ भएको छ भने मंगलबार मात्र स्वाब लिइने मेहताले बताए । ‘धेरै संख्या हुने भएकोले सबैलाई घरमा बस्न भनेका छौं, भोली कलेक्सन गछौं,’मेहताले भने ।
स्वाब लिएकाहरु एन्फा क्वारेन्टिनका ३२ जना छन् भने पोजेटिभसँग कन्ट्याक ट्रेसिङको २० जना, होम क्वारेन्टिनमा रहेका १० जनाको संख्यामा भएको एन्फा क्वारेन्टिनमा खटिएकी स्वास्थ्यकर्मी डुका घिसिङले जानकारी दिइन् । यस्तै, होटल क्वारेन्टिनका ४ जना, नेपाल आर्मीका ३, नगरपालिकाका कर्मचारी ७ जना, एम्बुलेन्स चालक ३ जना, होल्डिङ एरियाबाट मानिस ल्याउने माइक्रोका चालक १ जना र अरु ज्वरो आएका, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरुलगायत छन् ।