धरान: सुनसरीमा छिमेकी नगरहरुले धमाधम लकडाउन गर्न थालेपछि धरान उपमहानगरपालिकाले पनि लकडाउन गर्ने भएको छ ।

लकडाउनबारे आवश्यक निर्णय लिन धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बुधबार बिहान ८ बजे बोलाइएको छ । उक्त बैठकले लकडाउन बारे निर्णय गर्ने मेयर तिलक राईले बताए । उनले भने,‘भोली बुधबार बैठक छ, सम्भवतः पर्सिदेखि लकडाउन गर्ने निर्णय गर्नसक्छ ।’

धरानमा पनि कोरोना संक्रमितको संख्या बढिरहदा संक्रमण समुदायस्तरमा फैलिएको भन्दै लकडाउन गर्नुपर्ने आवाज सर्वसाधारणहरुले उठाइरहेका छन् । यसअघि उपमहानगरपालिकामा भएको छलफलले लकडाउन गर्ने निर्णय नगरी बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म मात्र बजार खोल्न दिने निर्णय गरेको थियो । औषधी र खाद्यान्नलगायत अत्यावश्यक पसल भने चौबिसै घण्टा खुला गर्ने निर्णय थियो ।

यो निर्णय पछि पनि धरानमा विभिन्न वडामा संक्रमण पुष्टि हुन थालेपछि लकडाउन गर्नुपर्ने दबाब उपमहानगरपालिकालाई परेको छ । अझ छिमेकी इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले आज लकडाउन गर्ने निर्णय गरेको छ भने दुहबी नगरले पनि कार्यालय र बजार क्षेत्र सिल गर्ने निर्णय गरेपछि धरानमा पनि लकडाउन गर्नुपर्ने दबाब परेको छ । धरानमा अहिलेसम्म २८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।