विराटनगर: पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६६ जना कोरोना संक्रमित थपिएका छन् ।

ती मध्ये सबैभन्दा धेरै मोरङमा २४ जना छन् भने सुनसरीमा १९ थपिएका छन् । यस्तै, इलाममा १५ जना र झापामा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र १० महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै, बेलबारीमा २ र रंगेलीमा १ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यसैगरि, सुनसरीको धरानमा ११ पुरुष र ३ महिलामा संक्रमण देखिएको छ भने इटहरीमा ४ र पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष र १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार २ सय ५५ पुगेको छ ।

आज १८ जना डिस्चार्ज

प्रदेश १ मा आज १८ जना डिस्चार्ज भएका छन । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल गोठगाउँबाट १२ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा झापाका ९, मोरङका ६, मोरंग, सुनसरी, धनकुटा र पाँचथरका १/१ जना रहेका छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय ५ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ५४ जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।