धरान: अनलाइन कक्षा शुरु गरेका धरानका कतिपय निजी विद्यालयहरुले बार्षिक शुल्कको नाममा लिदै आएको भर्ना शुल्क तिर्न दबाब दिएपछि अभिभावकहरु पनि एकजुट हुन थालेका छन् ।

धरानका विभिन्न निजी विद्यालयका अभिभावकहरुले हिजो शुक्रबार भेला भएर अनलाइन कक्षा शुरु गरेपछि स्कुलबाट विद्यार्थीको बार्षिक शुल्क तिर्न दबाब दिएको बिषयमा वृहत छलफल गरेका छन् । उक्त भेलाले विद्यालयमा नियमित कक्षा शुरु नभएको र अनलाइन कक्षा मात्र सञ्चालन हुँदा बार्षिक शुल्क तिर्न नपर्ने निष्कर्ष निकालेको एक अभिभावकले जानकारी दिए । उनका अनुसार उक्त भेलामा थुप्रै विद्यालयका अभिभावकहरु भेला भएका थिए । ‘स्कुलले बच्चाहरु क्लास अपग्रेड हुँदा पनि बार्षिक शुल्क भनेर भर्ना शुल्क नै लिदै आएको छ,’नाम नखुलाउन आग्रह गर्दै ती अभिभावकले भने,‘त्यसरी लिएको शुल्क विभिन्न क्रियाकलापहरु हुन्छ, तर अहिले स्कुल बन्द हुँदा अनलाइन कक्षा भएको छ । अनलाइन कक्षामा क्रियाकलापहरु हुदैन, र त्यसरी क्रियाकलापको नाममा लिने बार्षिक शुल्क स्कुलले लिन मिल्दैन भन्ने निष्कर्ष निकाल्यौं ।’

ती अभिभावकका अनुसार भेला भएका अभिभावकहरुले आइतबार धरान उपमहानगरपालिकामा ज्ञापन पत्र पनि बुझाउनेछन् । अनलाइन कक्षाले गर्दा अभिभावकहरुको खर्च झन् बढाएको र लकडाउनले गर्दा आम्दानी पनि गुमेको बेला स्कुलहरुलाई शुल्क तिर्न गाह्रो भइरहेको अभिभावकहरुको गुनासो छ । मासिक शुल्कमा पनि सकेसम्म राहत दिइनुपर्ने अभिभावकहरुको भनाई छ । कतिपय स्कुलले भर्ना नगरे बच्चालाई अनलाइन परिक्षामा पनि सहभागी नगराउने भन्दै दबाब दिइरहेका छन् । साथै, स्कुल सञ्चालन हुँदा १० देखि ४ बजेसम्म आफ्ना बच्चा स्कुलमा हुने भएकोले अभिभावकहरुले अन्य काम गर्न भ्याउथे, तर अहिले अनलाइन कक्षा हुँदा बच्चासँगै बस्नुपर्ने बाध्यता भएको पनि अभिभावकहरुको भेलामा प्रसंग उठेको छ ।

कतिपय स्कुलले भर्ना नगरे बच्चालाई अनलाइन परिक्षामा पनि सहभागी नगराउने भन्दै दबाब दिइरहेको पनि अभिभावकहरुले गुनासो पोखेका थिए ।‘छलफलमा आफ्नो बच्चा भर्ना नगरे स्कुलले अनलाइन परिक्षामा सहभागी नगराउने भनेर दबाब दिएको कुरा पनि उठ्यो, एक जनाले शुल्कमा चित्त बुझेन भनेपछि बच्चालाई अनलाइन कक्षामा नै स्कुले राखेनछ,’ती अभिभावकले भने,‘हामी विद्यालय पनि चलोस्, शिक्षकले तलब पनि पाओस् भन्ने पक्षमा छौं, तर अभिभावकहरुको अवस्था पनि पहिलाको जस्तो छैन, शुल्कमा मार पर्नुहुन्न भन्ने हो ।’

कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेका कतिपय शैक्षिक संस्थाहरुले अनलाइन कक्षा शुरु गरेका छन् । ती स्कुलहरुले बार्षिक र मासिक शुल्क तिर्न अभिभावकहरुलाई बारम्बर ताकेता गरिरहेको छ । कतिपय स्कुलले सुचना नै जारी गरेका छन् । विद्यालयहरुले शुल्क कति लिने भन्ने अधिकार स्थानीय तहलाई छ । धरान उपमहानगरले भने निर्णय गरिसकेको छैन ।