आज नवरात्रको छैटौं दिन : कात्यायनीको पूजा

  • प्रकाशित: कार्तिक ६, २०७७ / 454 पटक पढिएको
  • हरि पाण्डेय ‘पथिक’
alt

शारदीय दुर्गापूजनोत्सवको छैटौं दिन आश्विन शुक्ल षष्ठी हो। यस दिन दुर्गाका नौ शक्तिमध्ये भगवती कात्यायनीको पूजा अर्चना हुन्छ।

 कत नामका ऋषिको गोत्रमा जन्मेकी हुनाले यिनलाई कात्यायनी भनिएको हो। यिनको प्रादुर्भावबारे यस्तो कथा पाइन्छ-
अघि कात्यायन ऋषिले कठोर तपस्या गरेर भगवती महामायालाई प्रसन्न तुल्याए। देवी प्रकट भएपछि ऋषिले तपाईं मेरी पुत्रीका रूपमा रहनुहोस् भन्ने वर मागे। महामायाले उपयुक्त समयमा ऋषिका घरमा जन्म लिने वचन दिइन्। पछि महिषासुरले देवलोकमा आक्रमण गरेर देवताहरूका अधिकार खोस्यो। देवताहरू भगवती महामायाको शरणमा गए। उनीहरूको प्रार्थना सुनेर देवी महामायाले उनीहरूका दुःख हरण गर्ने वचन दिइन्। सोहीअनुसार आश्विन कृष्ण चतुर्दशीका दिन कात्यायन ऋषिका घरमा जन्म लिइन्।

इन्द्रादि देवताहरूलाई देवी कात्ययनीको प्रादुर्भाव भएको कुरा थाहा थियो। उनीहरूले आश्विन शुक्ल षष्ठीका दिन देवीसामु गएर पुनः प्रार्थना गरे। कात्यायनीले आश्विन शुक्ल सप्तमी, अष्टमी र नवमी गरी तीन दिन कात्यायन ऋषिको पूजा ग्रहण गरिन् अनि उपयुक्त समय आएकाले देवताहरूको दिव्य तेज र शस्त्र–अस्त्र ग्रहण गरेर दशमीका दिन महिषासुरको वध गरिन्।

अर्को प्रसंग अनुसार महिषासुरको वधका लागि इन्द्रादि देवताहरूको शक्ति एकत्रित भएर चण्डिका रूपमा देवी प्रकट भइन्। त्यसबेला सबैभन्दा पहिले कात्यायन ऋषिले यिनको पूजा गरे। त्यसै हुनाले यिनको नाम कात्यायनी रहन गयो।

कात्यायनीको विग्रह दिव्य सौन्दर्यले युक्त छ। यिनी सुनौलो वर्णकी छन्। यिनका चार भुजा छन्। दायाँतर्पmका हातमा अभयमुद्रा र वरमुद्रा छन् भने बायाँतर्पmका हातमा कमलपुष्प र तरबार लिएकी छन्। यिनको वाहन सिंह हो। सप्तशतीको एघारौं अध्यायमा देवताहरूले यिनको स्तुति गरेका छन्। त्यहाँ यिनलाई तीन नेत्र भएकी, सौम्य रूपकी कात्यायनीले सबै भयबाट रक्षा गरून् भनिएको छ(

एतत्ते वदनं सौम्यं लोचनत्रयभूषितम्।
पातु नः सर्वभीतिभ्यः कात्यायनि नमोऽस्तु ते।।

द्वापरयुगमा गोपिनीहरूले कृष्णजीलाई पतिका रूपमा पाऊँ भनेर कात्यायनी व्रत गरी कात्यायनी देवीको स्तुति गरेको प्रसंग भागवत (१०/२२अध्याय)मा आउँछ।

कात्यायनीको उपासनाबाट उपासकले शारीरिक सौन्दर्यका साथै मानसिक शान्ति प्राप्त गर्छ। मनोवाञ्छित फल दिने यी देवीको उपासनाबाट पाप नाश भएर धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ प्राप्त गर्न सकिन्छ भन्ने पौराणिक मान्यता छ। कात्यायनीको पूजा आराधना गर्नाले अविवाहित युवतीले चाँडै सुन्दर पति प्राप्त गर्छिन् भन्ने विश्वास छ।

पूजाविधि

नवरात्रका अघिल्ला दिनहरूमा जस्तै छैटौं दिन कात्यायनीको पूजा हुन्छ। कात्यायनीको पूजा गर्दा अरू मन्त्रका अतिरिक्त ॐ कात्यायन्यै नमः भनेर गर्न सकिन्छ। माथि उल्लेख भएको ‘एतत्ते वदनं सौम्यं...’ मन्त्रले पनि कात्यायनीको पूजा–प्रार्थना गर्न सकिन्छ। कात्यायनीको पूजा गर्दा उनको वाहन सिंह र उनका शस्त्रअस्त्रको पनि पूजा गर्नुपर्छ। नवरात्रको छैटौं दिनमा ७ वर्षकी कन्याको पूजा हुन्छ। छैटौं दिन पूजा गरिने कन्यालाई चण्डिकाका रूपमा पूजा गर्नुपर्छ। यिनलाई ॐ चण्डिकायै नमः, ॐ कुमार्यै नमः भनेर पूजा गर्न सकिन्छ। अन्य कर्म अरू दिनजस्तै गर्नुपर्छ।

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ

Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]

कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A

प्रतिलिपि अधिकार © 2020 / 2020 - क्लिक धरान - सर्वाधिकार सुरक्षित