धरान: धरान गल्फ क्लबले आयोजना गरेको क्याडी गल्फ प्रतियोगितामा रिकेश राई विजेता भएका छन् ।

पार ७० को गल्फ कोर्षमा आज बुधबार आयोजित प्रतियोगितामा ९ ह्याण्डीक्याप खेलाडी रिकेशले १ अण्डर ६९ स्कोर गर्दै विजेता भएका हुन् । प्रतियोगितामा १० ह्याण्डीक्याप खेलाडी प्रमोद राईले पार ७० स्कोर गर्दै दोस्रो भए । यस्तै, १४ ह्याण्डीक्याप खेलाडी श्याम लिम्बुले १ ओभर ७१ स्कोर खेल्दै तेस्रो भएका थिए ।

यसैगरि, प्रतियोगितामा ग्रोस विजेता अनिल परियार भए । उनले २ ओभर ७२ स्कोर गरेक थिए । मस्ट बर्डीको पुरस्कार सुमन परियारले पाए भने लंगेष्ट ड्राइभको पुरस्कार विष्णु मगरले जिते । यस्तै, वेष्ट क्याडीको पुरस्कार विज्ञान परियारले पाए । विजेता खेलाडीहरुलाई धरानका मेयर एवं नेपाल गल्फ एशोसिएशनका केन्द्रीय उपाध्यक्ष तिलक राई, आयोजक क्लबका अध्यक्ष टिका लिम्बु, क्लब सदस्य विरेन्द्र लिम्बु, प्रोफेस्नल गल्फर मणी राई, देउराज पाख्रिन, गजेन्द्र लिम्बुलगायतले पुरस्कार वितरण गरेका थिए ।

golf1

प्रतियोगिता क्लबको आयोजना तथा देशविदेशमा रहेका सदस्यहरुको सहयोगमा भएको सचिव जितेन्द्र राईले जानकारी दिए । यो प्रतियोगिता क्याडीहरुको वृत्ति विकासको लागि बार्षिकरुपमा आयोजना भइरहेको पनि उनले बताए । 'क्याडीहरुको खेल क्षमता विकास गर्नको लागि बर्षेनी क्याडीहरुबीच प्रतियोगिता आयोजना गराउछांै,'सचिव राईले भने,'धरानका प्रतिभाशाली खेलाडी शुक्रराज राई, नेपालकै नम्बर वान गल्फर शिवराम श्रेष्ठ पनि क्याडीबाटै आएका हुन् ।'  प्रतियोगितामा १४ जना क्याडीहरु सहभागी थिए ।

क्याडीहरुको लागि अक्षयकोष बनाइने

क्लबले क्याडीहरुलाई आवश्यक पर्दा संस्थागत सहयोगको लागि अक्षय कोष बनाउने जनाएको छ । प्रतियोगिता सम्पन्न गरेर बचेको रकमबाट भोली बिहिबार नै खाता खोलेर अक्षयकोष बनाइदिने सचिव राईले बताए ।