धरान: शनिबार बिहान पौने ११ बजेतिर धरानको मतगणना शुरुवात भएको थियो । वडा १ को मतपेटिका खोलेर शुरुवात भएको मतगणना लगत्तै वडा २ र ३ को पनि शुरुवात भएको थियो ।

निर्धारित समयभन्दा झण्डै ३ घण्टा ढिला मतगणना शुरु हुँदा पनि धरानका मतदाताहरु उत्साहित थिए । तर, मतगणना र नतिजा सार्वजनिक गर्ने कार्य भने निक्कै धिमा गतिमा भइरहेको छ । शनिबार राती ठ्याक्कै पौने ११ बजे धरान वडा नं ३ को ८ सय मतको मात्र गणना सकिएर नतिजा सार्वजनिक भएको छ । वडा नं ३ मा मतदाता संख्या ३१२१ रहेको थियो भने शुक्रबार भएको मतदानमा १९८७ मत खसेको थियो । गणना कार्य सुस्त हुँदा १२ घण्टामा मात्र ८ सय मत गणना सकिएको छ । 

वडा ३ को ८ सय मत गणना हुँदा मेयरमा गठबन्धनका उम्मेद्वार किशोर राईले ३०८ मत पाएका छन् भने स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २०७ मत पाएका छन् । यस्तै, एमालेकी मेयर उम्मेद्वार मञ्जु भण्डारीले १६९ मत पाएकी छिन् । राप्रपाको हलो चिह्नले २९ मत मात्र पाएको छ । 

यसैगरि, उपमेयरमा गठबन्धनबाट उम्मेद्वार अइन्द्रबिक्रम बेघाले ३४० मत पाएका छन् भने एमालेका पदम इस्वोले २११ मत पाएका छन् । उपमेयरमा राप्रपाको हलो चिह्नले २७ र स्वतन्त्र उम्मेद्वार लौरोले पनि २७ मत पाएको छ । यस्तै, वडाअध्यक्षमा कांग्रेसका उम्मेद्वार विद्या शाक्यलले ४४३ मत पाएर अग्रता कायमै राखेका छन् भने एमालेका उम्मेद्वार सुयोग पाख्रिनले २६१ मत पाएका छन् । वडाअध्यक्षमा राप्रपाले १८ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

भिडियो: