विराटनगर: प्रदेश नंं. १ को नामकरणका लागि आज (शुक्रबार) मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक बसेको छ । 

प्रदेश सरकारको आह्वानमा प्रदेश सभाका संसदीय दलका नेतासहितको बैठक मुख्यमन्त्रीको कार्यकक्षमा बसेको हो । बैठक चालु प्रदेश सभाबाट प्रदेशका नामकरण टुंगाउने विषयमा बसेको मुख्यमन्त्री राजेन्द्रकुमार राईले जानकारी दिए । बैठकमा प्रदेश सभाको चालु अधिवेशनबाटै प्रदेशको नाम टुंगो लगाउने विषयमा दलहरूबीच प्रारम्भिक कुराकानी भएको मुख्यमन्त्री राईले बताए । प्रारम्भिक चरणको बैठक भएकाले आ–आफ्नो दलका तर्फबाट धारणाहरू प्रस्तुत गर्ने काम भएको पनि उनले बताए । ‘सुरुवाती जस्तो बैठक भएकाले अहिले दलहरूका तर्फबाट प्रारम्भिक धारणा आएको छ, प्रदेश नामकरणका विषयमा सबै दलले लचकता अपनाउने र साझा सहमति खोज्ने कुरा भएको छ’ मुख्यमन्त्री राईले भने ।

बैठकमा सबै दलका तर्फबाट प्रदेशका नाम के राख्न चाहेको हो, त्यो प्रस्तुत भएको मुख्यमन्त्री राईले बताउनुभयो । दलहरूबाट प्रदेशको नामकरणका सवालमा अलगअलग नाम आएकाले आगामी बैठकमा बैकल्पिक नामसहित उपस्थित हुने सहमति भएको मुख्यमन्त्री राईले खुलाए । आ–आफ्नो पार्टीबाट अब थप म्याण्डेटका साथ उपस्थित हुनेगरी अर्को बैठक बस्ने सहमतिसहित आजको बैठक समापन भएको मुख्यमन्त्री राईले बताए । 

बैठकमा एमालेले प्रदेशको नाम कोशी राख्न प्रस्ताव गरेको थियो । माओवादी केन्द्रले किरात राख्न प्रस्ताव गरेको छ भने नेकपा एकीकृत समाजवादीले कोशी किरात वा सगरमाथा किरात राख्न प्रस्ताव गरेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले किरात लिम्बुवान प्रस्ताव गरेको थियो भने राप्रपाले सगरमाथा प्रस्ताव गरेको  थियो ।  नेपाली कांग्रेसले भने नामकरणको लागि कुनै पनि नाम प्रस्ताव गरेन । अनय दलहरूले प्रस्ताव गरेको नामहरुमध्ये कुनै एउटामा सहमति गर्ने कांग्रेसको भनाई  छ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता भीम आचार्य, नेपाली कांग्रेसका संसदीय दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो सहभागी थिए । यस्तै, जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता एवं स्वास्थ्य मन्त्री जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलकी नेता एवं सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्वाहाम्फे, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकी नेता इन्दिरा राई पनि सहभागी थिए । यसैगरि, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक सुयर्माराज राई, नेकपा एमालेका हिक्मतकुमार कार्की पनि बैठकमा सहभागी रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।