धरान: धरानमा विद्युतीय नक्सा पास प्रणाली लागु गरिने भएको छ । 

बुधबार बसेको कार्यपालिका बैठकले धरानमा विद्युतीय नक्सा पास प्रणाली पनि कार्यान्वयनमा ल्याउने प्रस्ताव पारित गरेको छ । विद्युतीय (डजिटल) हस्ताक्षरको प्रयोग गरेर नक्सा शाखालाई पेपरलेस बनाउन आगामी भदौ १५ गतेदेखि नयाँ दर्ता हुने र पुराना घर नक्सापास आवेदनहरु पुर्णरुपमा विद्युतीय नक्सा पास प्रणालीको प्रयोग गरि सञ्चालनमा ल्याइने भएको छ । भदौ १४ गतेसम्म वडाबाट सर्जमिन भएर प्रमाणपत्रको लागि सिफारिश भएका नक्साहरुलाई पनि अनलाइन प्रविष्ट गरी कार्य अघि बढाउने उपमहानगरपालिकाले जनाएको छ । 

akrosh-karyapalika1

यसैगरि, बैठकले खानेपानी समस्या हल गर्न धरान २० स्थित बाँनियाटारमा जलकुण्ड बनाउनको लागि सम्भाव्यता अध्ययन गर्ने पनि प्रस्ताव पारित गरेको छ । मेयर हर्क साम्पाङको योजना अनुसार उक्त जलकुण्ड बनाउन अध्ययन हुन लागेको हो । मेयर साम्पाङले बाँनियाटारमा जलकुण्ड बनाएर बर्खाको पानी जम्मा गर्ने र अति समस्या हुने चैत, बैशाखतिर वितरण गर्ने योजना बनाएका छन् । 

मेयर साम्पाङ निवार्चित भएलगत्तै धरानको खानेपानी समस्या हल गर्न केन्द्रीत छन् । पकुवा खोलाको पानी आपूर्तिको लागि जनश्रमदान अभियान सफलरुपमा सम्पन्न भएपछि अहिले उनकै योजनाअनुसार निशाने, सर्दु र खर्दु खोलामा पनि श्रमदान अभियान चलिरहेको छ । यसैगरि, मेयर साम्पाङले साबुन उत्पादन गर्ने उद्योग पनि स्थापना गर्ने योजना अघि सारेका छन् । उनको यो योजनाको प्रस्ताव पनि बुधबार कार्यपालिका बैठकले अनुमोदन गरेको छ । मेयर साम्पाङले आफ्नो मेयर कोषको बजेटले उद्योग स्थापना गर्ने बताएका छन् ।

भिडियो: