मानिसहरुको दैनिकी एवं जीवनशैली र खानपानमा आएको परिवर्तनसँगै विभिन्न रोग तथा स्वास्थ्य समस्याहरुले पनि गाँज्दै लगेको छ । अहिले प्रमुख स्वास्थ्य चुनौती नै प्रेसर, मधुमेह, मुटुरोग र मृगौला रोग जस्ता दीर्घ रोगहरु देखिएको छ ।

यस्ता दीर्घ रोगहरुबाट मानिसहरुलाई बचाउनको लागि केएचडिसि कार्यक्रमले करिब दुई दशकदेखि समुदायस्तरमा जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ । यो संस्थाको परिकल्पनाकार, संस्थापक वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ बिशेषज्ञ चिकित्सक प्रा.डा.सञ्जिवकुमार शर्मा हुन् । उनी हाल प्रतिष्ठानको शिक्षाध्यक्षसमेत छन् । प्रा.डा.शर्मासँग केएचडिस कार्यक्रमको बारे सविता राई ले गरेको संवाद यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न: केएचडिसि कार्यक्रम कस्तो कार्यक्रम हो, र तपाईलाई के कुराले संचालन गर्न प्रेरणा दियो ?

उत्तर: केएचडिसि कार्यक्रम भनेको मृगौला र मुटुरोग मुक्त समाज बनाउन सकिन्छ कि भन्ने उद्धेश्यका साथ हामी हिडेको हो । यसको शुरुवातबारे एउटा प्रसंग जोड्न चाहन्छु, काठमाण्डौ बाहिर भर्खर डायलाईसिस सेवा शुरु भएको थियो । एकजना ताप्लेजुङका २५–३० वर्षका भाई आफु सित भएको सम्पत्ति बेचर वैदेशिक रोजगारका लागि खाडी मुलुक जानुभएको रहेछ । ६ महिना पछि मृगौला बिग्रेको भनेर कम्पनीले फिर्ता पठाएछ ।

छ महिना कमाएको पैसाले काठमाडौमा डायलाइसिस गरेर पैसा सकेछन् । पछि पुर्वको विपी अस्पतालमा पनि डायलाईसिस हुने रहेछ भन्ने थाहा पाए पछि धरान आए । डायलाईसिसका लागि निवेदन दिनुभयो, हामीले हुन्छ भन्यौ र नर्सिङ टिमले डायलाइसिसका लागि चाहिने समानको लिस्ट दिनुभयो । विरामीले 'पैसा छैन' भन्यो । 'पैसा नभए डायलाईसिस गर्न सकिदैन' भन्यौ । ती भाई मेरो ढोका अगाडी सुतेर 'म बाँच्न नपाउने ?' भनेर धेरै समय रुनु भयो, मैले केही जवाफ दिन सकिन र म उठेर हिडे । त्यो पछि उहाँसँग भेट भएन ।

तर त्यो घटनाले डाक्टर हुनको अर्थ खोज्न बाध्य पार्यो । विरामी भएपछि उपचार गर्न सक्दैनौ भने किन डाक्टर हुने ? हुन त यो राज्य व्यवस्थाको कुरा होला तर म आफ्नै कुरा गर्दैछु । र अर्को कुरा त्यो भाई शुरुमा मृगौलाको साधारण विरामी थियो, पहिला पिसाबको टेस्ट गर्न पाएको भए पिसाबमा प्रोटिन देखिन्थ्यो होला । हुन सक्छ बायप्सी गर्नुपथ्र्यो होला, जुन ४–५ हजारमा हुन्थ्यो र उसले समयमा नै उपचार पाई स्वास्थ्य जीवनयापन गर्नसक्थ्यो होला ।

यो घटनापछि मेलै मेरा नर्सिङका विद्यार्थी, एमबिबिएसका विद्यार्थी, पिजि गर्ने विद्यार्थीसँग सल्लाह गरे र सबैले हामी सहयोग गछौं भने । एक जना पत्रकार साथीले विजनेस हाउस सित भेट गराई दिनु भयो । सामानमा लाग्ने खर्च व्यवहोर्ने वचन पाईयो । सबै तयारी भयो । रोटरी क्लब अफ धरान घोपाले भोलेन्टियर गर्ने तयारी भयो । १४ नोभेम्बर २००३ का लागि सबै तयारी गयौ । तर त्यो विजनेस हाउसले एक हप्ता अगाडी सहयोग गर्न नसक्ने जवाफ आए पछि हामी अन्यौलमा पर्यौं । 

khdc

यसपछि हामी कहा आउने औषधी कम्पनीलाई अनुरोध गरयौ । एउटा कम्पनीले सामाजिक उत्तरदायित्व भित्र हाम्रो कम्पनीले सहयोग गर्ने भन्यो । सिरिन्ज, ग्लुकोज स्टिक, ब्लड प्रेसर स्टुलमेन्ट दिनुभयो र हामीले धरानको वडा नंं १ बाट घरदैलो शुरु गर्यौं । हामीसँग हाईट नाप्ने सामान थिएन, भाटामा धर्को राखेर नाम्थ्यौं । अहिले फोटो हेर्दा रमाईलो लाग्छ ।

त्यही समय अन्तरराष्ट्रिय मृगौला समाजले हामीले काम गरेको थाहा पाएर १५ हजार डलर दियो । धरानका सहयोगीहरुको साथबाट नै केएचडिसि शुरु भयो । शुरुवातको सहयोग अनिता फरमा ल्याबले एकजना मान्छे तलबमा राखिदियो । त्यसरी नै फार्मासिटिकल हाउसले सिरिन्ज, ग्लुको मिटर, भायल उपलब्ध गराए । विपि अस्पतालले आफनो ल्याबमा टेस्ट गर्न दियो । समाजले दिएको १५ हजार डलरले सानो ल्याब किन्यौ । पछि छाताचोकको पूरानो अस्पतालमा एकजना अग्रवाल साथीले ल्याब बनाई दिनुभयो । त्यो ल्याबको एउटा मेसिन अझैसम्म चलिरहेको छ । अहिले हामी व्यवस्थित भएका छौं ।

जेनेभा यनिर्भसिटी हस्पिटलले सहजताका लागि गाडी दिएको छ, ल्याब दिएको छ । यसरी नै जेनेभा युनिर्भसिटिले हामीसँग सहकार्य गर्दै गाउँघरमा रहेका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम गरिरहेको छ । यसैक्रममा मेची नगरपालिकामा स्वास्थ्यकर्मीहरुलाई तालिम दियौं । र त्यहा वकालत गयौं । वहाँहरुले आफ्नै प्रयासमा ल्याबहरुमा बनाउनु भएकोछ र तालिम दिएका छौं । यसरी नै स्थानीय सरकारको सहकार्यमा झापा, ताप्लेजुङ, मोरङहरुमा शिविर तथा तालिमहरु दिईरहेका छौं । र चतरामा क्रोनिक डिजिज क्लिनिक सुरु गरेका छौं ।

प्रश्न: यसरी काम गरिराख्दा त्यस स्थानका जनताहरुले केएचडिसिको सेवाप्रति कस्तो प्रतिक्रिया दिने गरेका छन् ? 

उत्तर: स्क्रिनिङ गर्दा आधा भन्दा बढी नयाँ विरामीहरु पाउछौ । वहाँहरुलाई उपचार नगरे एकदिन हृदयघात, पक्षघात हुनसक्छ । समयमा नै रोग पत्ता लाग्न सके उपचार पाउनु हुन्छ र हामी त्यो रोक्न सक्छौ । हामी जुन ठाउँमा जान्छौ २–४ दिन बसेर आउने होईन ।

त्यो हेल्थपोस्टका साथीहरुलाई सक्षम बनाएर लामो उपचार गर्न सक्ने र रेफर गर्ने विरामी मात्रै रेफर गर्न सक्ने बनाएर मात्रै फर्किने हाम्रो उद्धेश्य रहन्छ । शहर बजारमा त उपचार पाउछन् तर दुर्गम गाउँघरमा उपचारमा पँहुच नै हुदैन । त्यस्तो ठाउमा गएर सेवा दिन पाउदा हाम्रो टिमलाई अति खुसी लाग्छ र त्यहाको जनताहरुको खुसी देख्दा आनन्द आउछ । हामी पहिलो पटक ताप्लेजुङ्ग पुगेका छौं । त्यस ठाउँको स्थानीय सरकारको सहयोग सह्रानिय छ ।  

प्रश्न: दुर्गम ठाउँमा जादा त्यहाको अस्पतालको भौतिक सरचनाहरु, त्यहाको सेवा सुविधाहरु कस्तो पाउनु भएको छ ?  

उत्तर: हाम्रो देशको कथाव्यथा त्यही हो । दुगर्म ठाउँमा काम गर्ने स्वास्थ्यकर्मीहरु, प्राविधिकहरु कामप्रति प्रतिबद्ध छन् तर वहाँहरुलाई पनि काम गर्न सामान चाहिन्छ, औजार चाहिन्छ, उर्जा चाहिन्छ, त्यो कमी पाएका छौं । ताप्लेजुङ्गका मान्छेहरु, नगरपालिका, प्रशासनहरु एकदमै सकरात्मक छन् । हामीले अस्पतालमा चाहिने पूर्वधार, ल्यावको व्यवस्थापनका विषयमा कुरा गरेका छौ ।

वहाँहरुले भन्नुहुन्छ “तपाईहरु हुदा नै ल्याबमा चाहिने सामानहरु जोडछौ, तपाईले दक्षजशक्ति बनाईदिनुपर्यो ।” त्यस्तै हामीले त रोग पत्ता लगाईदिन्छौ तर औषधीहरुको व्यवस्थापन त स्थानीय सरकारले नै गर्नुपर्छ । त्यसका लागि सरकारसँग निःशुल्क औषधीहरु माग गर्ने विषयमा प्रतिबद्धता पनि जनाएका छन् ।  

प्रश्न: स्थानीय सरकार र प्रदेश सरकारसँगको समन्वयकारी भुमिका कस्तो रहेको छ ? प्राजेक्टको रुपमा त हेरेका छैनन् स्थानीय या प्रदेश सरकारले ?

उत्तर: मलाई लाग्दैन स्थानीय सरकारले त्यो अर्थमा हेर्छ भनेर । हाम्रो पनि कमिकमजोरी होला, हामी धेरै पल्ट गएका छैनौ । अघिल्लो वर्ष मात्रै प्रदेश सरकार समक्ष हाम्रो कार्यक्रमको बारेमा प्रस्तुती गर्न गएका थियौ । हामी काम मात्रै गरेर बस्छौ, प्रचारप्रसारमा कमी नै छ । यो कार्यक्रम त २००३ देखि शुरु गरेका हौ तर २०१९ देखि मात्रै विदेशि संस्थाको सहयोगले त्यो पनि मेची नगरपालिकामा स्वास्थ्यकर्मीहरुलाई तालिमहरु मात्रै दिएका हौ । त्यसरी नै ताप्लेजुङ्गमा तालिमहरु दिदैछौं । अरु सबै सामजिक सेवा मात्रै छ । 

कसै कसैले भन्छ 'डलर ल्याएको छ, काम गर्छ' । शुरु शूरुमा त सञ्जिव शर्माले 'रगत बेच्छ' भन्ने आरोप पनि लगाए । भन्नेले भन्दै गर्छ तर हामीले हाम्रो काम छोडेनौ । विरामीले उपचार पाएका छन्, त्यसमा नै हामी खुसी छौ ।

khdc2

एउटा घटना सुनाउ, १८ वर्षको आमासँग डेढवर्षको बच्चा छ । श्रीमान् ई रिक्सा चालक, घरमा सासु पनि विरामी । उपचार गर्न आउदा ४ सय सुगर लेवल देखियो । उपचार गर्न ईन्सुलिन चलाउन पर्ने अवस्था थियो । एकजनाको कमाईले उपचार पाउन ति बहिनीलाई समस्या थियो । मैले एक औषधी कम्पनीसँग अनुरोध गरेर ईन्सुलिनको व्यवस्था गरिदिए । मजदुर संगठनका साथीहरुको पनि सहयोग गर्नुभयो । यी सब आत्मसन्तुष्टिको त काम होला नि । यदी केएचडिसिको बारेमा कसैले बुझन चाहेमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रै खाता छ, हेरे हुन्छ । हामी त व्यवस्थापनको पाटोमा मात्रै छौ । 

प्रश्न: अब कुरा गरौ स्वास्य शिविरमा आउने विरामीहरुको बारेमा । कस्ता विरामीहरु आउछन् ? कस्ता  विरामीहरुलाई ईन्सुलिन लिनुपर्छ ? ईन्सुलिन लियो भने जिवनभर लिनुपर्छ भन्ने डर छ नि ? यथार्थ के हो ?

उत्तर: हाम्रोमा कस्तो विरामी आउछ भनेर म एउटा फेरी उदाहरण दिन चाहन्छुँ । धरान ८ मा बस्ने एकजना घर बनाउने मिस्त्री काम गर्नु हुदो रहेछ । माथी चढेर काम गर्दा सास बढ्दो रहेछ । पैसा खर्च गरेर प्राईभेटमा उपचार गर्न नसक्ने अनि विपिमा आएर छुट्टि लिएर उपचार गर्न पनि नसक्ने । शिविरमा आउनुभयो । मैले मुटुको भिडियो एक्सरे गराए, मुटुको फङ्सन २० प्रतिशत मात्रै थियो । वहाँले उपचार नपाए कति दिनसम्म बाँच्नु हुन्थ्यो, नत्र केही वर्ष । हो यस्ता विरामीहरु आउछन् । अरु पनि आउछन् । विरामी थाहा भएका पनि आउछन्, थाहा नहुने पनि आउछन् । 

अब रहयो ईन्सुलिन लाउनु हुन्छ कि हुदैन भन्ने कुरा । मेरो एउटै प्रश्न विरमीलाई हुन्छ, तपाइको घरमा नुन सक्यो भने नुन ल्याउनु हुन्छ कि चिनी ? हाम्रो शरीरमा सुगरको सन्तुलन बनाउन ईन्सुलिन नामक पदार्थ बन्छ  । जब ईन्सुलिन नामक पदार्थ बन्न सक्दनै या बनेको ईन्सुलिनले काम गर्न सक्दैन भने हामीलाई मधुमेह हुन्छ । हामीले चक्कीहरु दिएर ईन्सुलिनको उत्पादन बढाउन सक्छौं । चक्कीहरु दिएर जति दिन गर्न सक्छ, सक्छ तर एक दिन गएर ईन्सुलिन बनाउने ग्रन्थी थाक्छ । र सुगर कन्ट्रोल आउदैन र त्यतिखेर ईन्सुलिन चाहिन्छ । सुगर विरामीले ईन्सुलिन अन्तिम समयमा लगाउने हो भन्ने डर या बुझाई छ तर त्यो होईन । ईन्सुलिन भने पछि सुई भनेर पनि डराउछन् । तर अहिले कलम जस्तो छ । विरामीलाई बुझाएर दिन्छौ र लगाउनु पनि हुन्छ ।

प्रश्न: सुगर सन्तुलन भएमा ईन्सुलिन लगाउन छोड्न मिल्छ की मिल्दैन ?

उत्तर: दुई खाले हुन्छ । कति विरामीलाई अलिकदिनको लागि दिन्छौ र छोडाउछौ । कति विरामीहरु चक्कीले काम गर्न नसक्ने शरीरमा ईन्सुलिन उत्पादन नहुने या ज्यादै कम उत्पादन हुने विरामीहरुका लागि निरन्तर चल्छ । 

प्रश्न: अहिले विपि प्रतिष्ठानमा डायलाइसिसको अवस्था कस्तो छ ? डाइलाइसिस मेसिन थपिएको पनि छ, त्यो संख्या प्रर्याप्त छ ? 

उत्तर: अहिले डायलाइसिस डिपार्टमेन्ट अफ मेडेसिनले हेरिरहेको छ । डायलाइसिस मेसिन अभैm प्रयाप्त मात्रमा पुगिरहेको छैन । अहिले चालु अवस्थामा २० वटा छ, एक पटकमा २० जनालाई डायलाइसिस गरिन्छ । ७ वटा मेसिन आईसियुमा थपिने प्रकृयामा छ । अहिले क्रिटिकल केयर एक्सपोर्ट पनि आउनुभएको छ । आईसियुमा हुने विरामीहरुलाई डायलाइसिस गर्ने व्यवस्था हुनेछ । तर यतिले प्रयाप्त छैन, हामीलाई त ५० वटा मेसिन भए पनि पुग्दैन । विरामीको चाप बढी रहेको छ । 

प्रश्न: के कारणले विरामीको चाप बढि रहेकोछ ?

उत्तर: तपाईले जरो समाउनु भो । मृगौला विग्रन मुख्य कारण सुगर, प्रेसर र पिसाबबाट प्रोटिन जाने विरामले हुन्छ । प्रेसर, सुगर कन्ट्रोलमा हुदैन, मृगौला रोग लागेको पत्तै हुदैन । जब सास बढ्न थाल्छ, खुट्टा सुनिन्छ उल्टि हुन्छ अनि बिरामले च्यापे पछि मात्र अस्पताल आउछ । त्यसैले केएचडिसिको औचित्य सुगर भएको विरामीलाई सुगर पत्तो लगाउने पिपि फास्टिङ ब्लडटेस्ट गरेर ।

khdc1

मृगौला ठिक छ छैन पिसाब टेस्ट गरेर प्रोटिनको अवस्था कस्तो छ हेछौं । मुटुको रोगका लागि कोलिस्ट्रल हेछौं । रोग लागेकोलाई बेलैमा उपचार गर्ने र नलागेकालाई जनचेतना जगाउने काम गछौं । अनि मात्रै मधुमेह, पक्षघात, मृगौला विरामी रोक्न सक्छौं । अहिलेको खानपान, रहनसहन, दुषित वातावरणले यी रोगहरु बढाईरहेको छ । हामीले हाम्रो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । घाम, पानी, परिश्रम, आहारविहारमा ध्यान दिन सके ८० प्रतिशत यस्ता रोग लाग्नबाट रोक्न सकिन्छ । 

प्रश्न: डाक्टर साब, अन्तिममा केही भन्नुपर्ने छ ?

उत्तर: अन्तिममा ABCDE जाँच गरौं भन्न चाहन्छ ।  A भनेको  Alnumin (पिसाबमा प्रोटिन), B भनेको Blood Pressure (उच्च रक्तचाप), C भनेको Creatinine  (क्रिएटिनिन), अर्को C भनेको पनि Cholesterol (कोलेस्टेरोल), D भनेको Diabetes (मधुमेह) र E भनेको e-GFR (मृगौलाको रक्त शुद्धिकरण) यति नियमित चेकजाँज गरायौ भने हामी रोग लाग्नबाट बच्न सक्छौ, लागि हालेमा छिटो उपचार पाउन सक्छौं । धन्यवाद ! 

भिडियो: