धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ ।

यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आजदेखि धरानको सबै वडामा ५ सयको हाराहारीमा स्वाब संकलन गरिने उपमहानगरपालिकाले जनाएको छ । यसरी लिइएको स्वाबको पिसिआर रिपोर्टको आधारमा धरानमा समुदायमा संक्रमण फैलिएको छ कि छैन भन्ने प्रष्ट हुनेछ भने लकडाउन गर्ने कि नगर्ने भन्ने निर्णय पनि यसैको आधारमा हुनेछ । ‘धरानको २० वटै वडाको स्वाब संकलन शुरु गर्ने तयारी हुदैछ, आज र भोलीभित्र लिइसक्छौं,’स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने ।

उच्च जोखिम क्षेत्र र वडागतरुपमा चिकित्सकहरुले तयार पारेको तथ्यांकको आधारमा स्वाब संकलन हुनेछ । ती सबैको वीपी प्रतिष्ठानस्थित कोभिड अस्पतालअघिको हेल्थ डेस्कमा लिइनेछ । जनशक्तिको सिमितता हुनुको साथै धेरै तिर स्वाब संकलन गर्न पुग्दा संक्रमण फैलिने जोखिम हुने भएकोले एकै ठाउँमा संकलन गरिने उनले बताए ।

list-1

नमुना संकलनको लागि लक्षण देखिएका, पुर्वलक्षण देखिएका, मानिसहरुको बढी चहलपहल हुने प्रमुख पसलहरु, धेरै सम्पर्क हुने अटो रिक्सा चालक, उच्च जोखिममा रहेका प्रहरी, सशस्त्र तथा सुरक्षाकर्मीहरु, सेलुनमा काम गर्नेहरु जो भारतबाट आएका छन्, स्वास्थ्यकर्मीहरु, आवतजावत गरिरहेका नेताहरुमा आधारित हुनेछ ।

वीपी प्रतिष्ठानका सामुदायिक चिकित्सक डा.प्रज्वल प्याकुरेलका अनुसार वडाको भुगोल तथा जनसंख्या र मानिसहरुको चहलपहल, गतिविधि हुने आधारमा स्वाब संकलनको तथ्यांक तयार पारिएको हो । ‘जनसंख्या हेछौं । मानिसहरुको आवतजावत हेछौं । बाहिरबाट बढी मान्छे कहाँ आएको छ, त्यो पनि हेरेर तथ्यांक बनाइएको छ,’उनले भने,‘वडाका जनप्रतिनिधिहरुसँग पनि छलफल गरेर सुझाव लिएका छौं ।’

धरानका उच्च जोखिमका क्षेत्रमा लिइने तथ्यांक

list1

प्रतिष्ठानको पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागले तयार पारेको तथ्यांकको आधारमा भिडभाड हुने बजार, चोकहरुलाई उच्च जोखिमको क्षेत्रमा समेटिएको छ । जसअनुसार भानुचोक, सब्जि मण्डी, धरान १३ स्थित कृषि उपज बजार र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेनगमेत अघिको क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । वीपी गेटअघिका फार्मेसी, अटोरिक्सा र टेम्पो रहेको छ ।

यस्तै, धरानको पुरानो बजार, मंगलबारे चोक, रेल्वे चोकलाई पनि उच्च जोखिम क्षेत्रकोरुपमा समेटिएको छ भने सुकुम्बासी ५ वटा क्षेत्रलाई पनि उच्च जोखिममा राखिएको छ । धरानमा रहेका विभिन्न बैंकका कर्मचारीहरु, माछा बजार, जिम हल र फुटसल पनि उच्च जोखिम क्षेत्रमा छ । यस्तै सेलुन र टेलर, धरान १७ को पटनालीलाई पनि जोखिम क्षेत्रमा राखिएको छ भने धरान १, २, ३, ७,९, १० र १२ वडामा पनि रेण्डमली पिसिआर जाच गरिनेछ । उच्च जोखिम क्षेत्रमा २ सय ५० जनाको पिसिआरको लागि स्वाब संकलन गर्ने तथ्यांक छ । यस्तै, वडागतरुपमा २५५ जनाको स्वाब संकलन गरिने भएको छ ।

list2